अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण नभएको बताए। उनले भने, 'पाँच सेकेन्डमा काठमाडौं डेढ मिटर सरेको छ। यो संसारका कुनै पनि राजधानीमा भएको छैन।' वैज्ञानिकहरूलाई जमिनको हल्लाइ र काठमाडौं सर्नुको कारण पत्ता लगाउन अप्ठ्यारो भइरहेको पनि उनले बताए।
अग्लो भएको ठाउँतिर पानीको सतह माथि आएको र अरूतिर पानीको सतह तल झरेको पनि उनले स्पष्ट पारे। नापी विभागले यसअघि काठमाडौंको जमिन सरेको बताए पनि समय वा दिशाबारे केही भनेको थिएन। विभागले विभिन्न ठाउँमा राखेका जीपीएस बिन्दुका आधारमा सबैभन्दा धेरै नगरकोट माथि उचालिएको जनाएको थियो।
वैज्ञानिक बिहामले संसारभरि भएका भूकम्पका घटना र प्रकृति अध्ययन गर्दा नेपालको भूकम्प धेरै कारणले अनौठो भएको बताउँदै संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेको जानकारी दिए। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको रप्चर (जमिनमुनि पर्ने चिरा) आधा बाटोमा रोकिएको आशंका पनि उनले गरे। दुई प्लेट जुध्दा उत्पन्न हुने शक्तिले त्यसलाई अझै धकेल्न खोजिरहे पनि केहीले रोकेका कारण अघि बढ्न नसकेको उनले बताए।
उनले काठमाडौंका कतिपय बाटो भूकम्पका बेला नभई पछिमात्रै भत्किएको तथा भासिएको उदाहरण पनि दिए। 'विमानस्थलनजिकका बाटोहरू भूकम्प गएको तीस सेकेन्डपछि मात्रै भासिएका थिए', बिहामले भने।
नेपालमा ठूलो भूकम्प जाने सम्भावना भए पनि कसैले पूर्वानुमान गर्न नसक्ने उनले बताए। 'यहाँको भूगोल, प्लेटहरूको बनोट र गतिविधिका कारण भूकम्प जान्छ भन्ने थाहा थियो तर कहिले र कसरी जान्छ, संसारमा कोही वैज्ञानिकले भन्न सक्दैनन्', उनले भने।
संसारमा ठूलो भूकम्पछि साना पराकम्पन आउने क्रम लामो समयसम्म जारी रहने उदाहरण दिँदै उनले नेपालमा पनि सानासाना पराकम्पन आउनसक्ने सम्भावना व्यक्त गरे।
0 comments:
Post a Comment